कुनै समयमा चर्चित चलचित्र निर्माण गरेर लोकप्रिय बनेको गोपिकृष्ण मुभिज पछिल्ला केही चलचित्रको असफलताले खस्किएको छ। तर, गोपिकृष्णले आफ्नो पुरानो साखलाई अगाडि बढाउन स्तरिय चलचित्र निर्माण गर्न थालेको देखिन्छ।
निर्देशक निरक पौडेलले चलचित्र ‘होमवर्क’मा खुबै मिहिनेत गरेका छन्। यस्तै, ‘ठमेल डट कम’ नामक चलचित्रको कथावस्तु पनि राम्रो रहेको वुझिन्छ।
अब, गोपिकृष्ण मुभिजकी अध्यक्ष समेत रहेकी निकिता पौडेल चलचित्र निर्देशनमा हात हाल्ने तयारीमा लागेकी छिन्। निकिताले निर्देशन गर्न लागेको नयाँ चलचित्रको हाल धमाधम कथा लेख्ने काम भैरहेको छ।
श्रोतका अनुसार निकिताले आफ्नो पहिलो चलचित्रमा चर्चित गायक उदितनारायण झाका छोरा आदित्यनारायण झालाई नायक बनाउने तयारी गरेकी छिन्। हुनत, अहिलेसम्म आदित्यले चलचित्रमा काम गर्ने वा नगर्ने पक्का भैसकेको छैन।
आदित्यको व्यस्तताले गर्दा पनि उनले कहिले समय दिन्छन् भन्ने पक्का भएको छैन। केही बलिउड चलचित्रमा काम गरेपनि आदित्यले सफलता हात पार्न सकेनन्।
आफ्नो डेब्यू निर्देशन रहने चलचित्रमा आदित्यलाई काम गराउँदा यसले निकितालाई पनि फाइदा पुग्नेछ। के आदित्यले नेपाली चलचित्रमा नायकको रुपमा डेब्यू गर्लान्? प्रतिक्षा सबैलाई हुनेछ।