अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको फिल्म फागु सोलो प्रदर्शनमा नआउने भएको छ। अब, यो फिल्म गोपिकृष्ण मुभिजको ब्यानरमा निर्माण भएको फिल्म होमवर्कसँगै प्रदर्शनमा आउने भएको छ। करिश्माले प्रदर्शन मिति तोकेको केही समयमा नै गोपिकृष्णले पनि प्रदर्शन मिति सार्वजनिक गरेसँगै फागु र होमवर्क बीच भिडन्त हुने भएको हो। दुवै फिल्म भदौ २५ गते प्रदर्शन हुनेछन्।
करिश्माको फिल्ममा अभिनेत्री शिल्पा पोखरेलले शिर्ष भूमिकामा काम गरेकी छिन्। यो फिल्मको छायांकन विरगञ्जमा गरिएको थियो यस्तै, महंगो बजेटको भनिएको गोपिकृष्ण मुभिजको ब्यारनमा निर्मित फिल्म होमवर्कमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्ल मुख्य भूमिकामा छन्। यो फिल्ममा आर्यन दोहोरो भूमिकामा देखिने छन्। आर्यनलाई दर्शकले तन्नेरी र वृद्ध भूमिकामा देख्नेछन्।
सुरुवातमा फिल्म फागुमा करिश्माले गोपिकृष्ण ब्यानरसँग सहकार्य गर्ने तयारी गरेकी थिइन्। तर, फिल्मको छायांकनको प्रारम्भमा गोपिकृष्णको साथ छाड्दै करिश्माले एक्लै काम गरेकी थिइन्। जहाँबाट करिश्मा र गोपिकृष्ण मुभिजको शितयुद्ध सुरु भएको हो। यसैले पनि करिश्माको फिल्मलाई टार्गेट गरेर फिल्म जुधाइएको हुनसक्ने अनुमान गर्न सकिन्छ। किनकी रिलिज मिति होमवर्कले भन्दा पहिले फागुले नै सार्वजनिक गरेको थियो।