पत्रकार ऋषि धमला एनजेड नेपाल पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।
रेडियो, टेलिभिजनमार्फत देशका जल्दा बल्दा मुद्दा जनतासम्म पुर्याउन विशेष योगदान दिएबापत धमलालाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो। सो पुरस्कारको राशि रु ५० हजार रहेको छ।
एनजेड नेपालका सम्पादक केदार चापागाईंका अनुसार रिपोर्टर्स क्लब नेपालमार्फत जनतालाई सुसूचित गर्न र विभिन्न समयमा राष्ट्रिय सहमति कायम गराउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै पत्रकार धमलालाई सम्मान स्वरुप यो पुरस्कार दिन लागिएको हो।
सो सम्मानपत्र ग्रहण गर्न धमला आउँदो महिना न्युजिल्यान्डको क्राइस्ट चर्च जाने कार्यक्रम छ।
एनजेड नेपालका सञ्चालक बुद्धिसागर घिमिरेले दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दा सत्ता र प्रतिपक्षका भनाइलाई सन्तुलित रुपमा प्रस्तुत गरी सबैलाई बराबरी स्थान दिने पत्रकारको रुपमा परिचय स्थापित गरिसकेकाले पनि आफूहरुले धमलालाई पुरस्कारको लागि छनोट गरेको बताए।